काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् ।
‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनका लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाईराखेका छन् ।
अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ’, साहले भने, ‘सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ । यो विषय यसरी संसदको नै अपमान हुनेगरि प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जरुरी छ । होईन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन् ? मिल्छ भने यसमा कानून लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु ।’
केही दिनअघि जसपा अध्यक्ष एवं सांसद उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनको लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाएका थिए । त्यही विषयमा आज साहले संसद्मा कुरा उठाएका हुन् ।
बैठकमा उनले रौतहटको गौरबको रुपमा रहेको गौर राईसमिल र बौद्धिमाई नगरपालिकाको बंकुलमा स्थानीय बृद्ध गंगााराम बैठाको रिहाईका लागि जारी धर्नाको बारेमा समेत आवाज उठाए ।
रौतहटमा स्थानीय प्रशासनको आतंक चलाएको साहको आरोप थियो । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायसंगको व्यक्तिगत रिसिईबीका कारण बौद्धिमाई नगरपालिकाका निर्दोष बृद्ध गंगाराम बैठालाई फसाउने काम भएको बारेमा समेत साहले सरकारसंग जवाफ मागेका थिए ।
अहिले रौतहट आन्दोलित रहेको बताउँदै साहले स्थानीय प्रशासनले दोषीलाई निर्दोष र निर्दोषलाई दोषी बनाएका कारण रौतहट अस्तव्यस्त बनेको आरोप लगाए ।
साहले रौतहटको गौरवको रुपमा रहेको गौर राइसमिल केही भुमाफियाको चलखेलमा बेच्ने खेल भैरहेको आरोप लगाउँदै त्यसप्रति सरकारको ध्यानाकार्षण गराए ।
सो जग्गा चलखेल गरेर बेच्न खोजिए पछि गौरबासी आन्दोलनमा रहेको बताउदै साहले त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।