३० वर्षपछि आमा घर फर्किइन् : आश मारेका परिवारका आँखामा आँसु, हृदयविदारक संघर्षको कथा

३० वर्षपछि आमा घर फर्किइन् : आश मारेका परिवारका आँखामा आँसु, हृदयविदारक संघर्षको कथा

मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • ३० वर्षपछि आमा घर फर्किइन् : आश मारेका परिवारका आँखामा आँसु, हृदयविदारक संघर्षको कथा

    बाजुरा । ३० वर्षअघि घरबाट निस्किएकी आमा फर्केर आउलिन् भन्ने आश परिवारले मारिसकेका थिए । तर एक दिन अचानक खबर आयो, आमा जिउँदै छिन् । भारतको कुनै आश्रयस्थलमा अरुको साहारामा बाँच्दै छिन् ।

    बुढीगंगा नगरपालिका-३ की ६८ वर्षीया शान्ति शाहीको जीवन यात्राले एउटा दुःखद कहानी बोकेको छ । परिवारका लागि उनी सम्झनाका धागो मात्र बनिसकेकी थिइन् । श्रीमान् चन्द्रबहादुर शाही, छोराहरू, बुहारी— सबैले आँसु पिएर जिन्दगी अघि बढाएका थिए । तर उनी जिउँदै थिइन्, बेवारिसे जीवन बिताउँदै भारतको पिथौरागढस्थित सडकमा ।

    त्यो अन्धकार ३० वर्ष

    तीस वर्षअघि उनी घरबाट माइत जाने भनेर हिँडेकी थिइन् । केही वर्षअघि चोरी भएको गहनाले उनलाई मानसिक रूपमा आघात पुर्‍याएको थियो । मानसिक असन्तुलनकै कारण उनी अनिश्चित यात्रामा हिँडिरहिन् । विभिन्न स्थानमा ठक्कर खाँदै उनी भारत पुगिन् । भारतमा उनले चिनेको कोही थिएन । भाषा फरक, ठाउँ फरक, अझ देश र राष्ट्रियता नै पनि फरक । 

    कयौं रात उनले सडकलाई नै आफ्नो घर बनाइन्, खुला आकाशलाई छानो । खुला आकाशको छानोमुनि बाँच्नुपरेको ती कठिन दिनहरू, उनलाई नचिनेका मानिसहरूले दिएका दुःखहरू सुन्दा पनि मन कटक्क हुन्छ ।

    WhatsApp Image 2025-03-04 at 07.16.01_dc52f6d5.jpg

    नवीन जोशीको पहलमा पुनर्मिलन

    शान्तिलाई भारतीय प्रहरीले सडकबाट उद्धार गरी पिथौरागढको वान स्टप सेन्टर नामक आश्रयस्थलमा पुर्‍यायो । त्यहाँ उनले झण्डै १८ वर्ष बिताइन् । उनको पहिचान खोज्न थुप्रै प्रयास भए, तर असफलता मात्र हात लाग्यो । अन्ततः केआईआईएन इण्डियाका निर्देशक नवीन जोशी को पहलमा उनको कथा सामाजिक सञ्जालमा राखियो । सामाजिक सञ्जालको चमत्कार नै भनौं छोरी वर्षा शाहीले उनको तस्वीर देखिन् । आमा जिउँदै छिन् भन्ने थाहा पाउँदा परिवार स्तब्ध भयो ।

    जोशीले कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने व्यवस्था गरे । तीस वर्षपछि परिवारको काखमा आएकी आमा‘ त्यो क्षण अविश्वसनीय थियो । श्रीमान् चन्द्रबहादुर शाहीले थरथर काँपिरहेका हातले पत्नीलाई समाए । बुहारी रिता शाहीको आँखामा अश्रुधारा बग्यो । “आमाको आगमनले हाम्रो परिवार फेरि पूरा भएको छ,” उनले भावुक हुँदै भनिन् ।

    WhatsApp Image 2025-03-04 at 07.16.02_23d060b0.jpg

    समाजका लागि एउटा पाठ

    शान्ति शाहीको यो कथाले धेरै कुराहरू सिकाउँछ । एकजना महिलाले परिवारबाट अलग भएपछि कति दुःख झेल्नुपर्छ  हराएका आफन्तलाई खोज्न प्रविधिको सहारा लिन सकिन्छ । नवीन जोशी जस्ता निःस्वार्थ समाजसेवीको योगदानले कतिपय परिवार फेरि जोडिन सक्छन् ।

    तीन दशकपछि घर फर्केकी शान्तिले आफ्नो परिवारलाई पहिचान गर्न सकिन् । परिवारले पनि उनलाई प्रेमले अँगाले । उमेरले शरीर कमजोर भए पनि हृदयमा आशाको नयाँ ज्योति जल्न थाल्यो ।

    तीस वर्षपछि घर फर्केकी आमाको मुस्कान त्यो संसारकै सबैभन्दा सुन्दर मुस्कान थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij