राजा फर्किने भनेको पोखराबाट काठमाडौंमात्रै हो, सिंहासनमामा होइन : गोकुल बास्कोटा

राजा फर्किने भनेको पोखराबाट काठमाडौंमात्रै हो, सिंहासनमामा होइन : गोकुल बास्कोटा

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • राजा फर्किने भनेको पोखराबाट काठमाडौंमात्रै हो, सिंहासनमामा होइन : गोकुल बास्कोटा

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजसंस्था फर्किने कुनै सम्भावना नभएको जिकिर गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठका बोल्दै सांसद बास्कोटाले नेपालमा मरिसकेको राजसंस्था बौरिने सम्भावना नभएको बताएका हुन् ।

    ‘राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर अर्कोथरी ‘डे वान’ देखि कराउने । ठीकै हो, यो कराउने ठाउँ त हुँदै हो । पाइन्छ कराउन । यो के हो त ? सरकार मन नपर्न सक्छ, के प्रमुख प्रतिपक्षले लोकतन्त्रको विकल्प खोजेको हो ? दक्षिणपन्थी विचार बोक्ने र वामपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमा हो ? याद गर्नु होला, त्यो चुल्होमा गणतन्त्र मास्ने, राजतन्त्र फर्काउने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । सम्भव छैन । यो २१औं शताब्दी हो, के गर्न राजा फर्काउने ?’

    पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नेता बास्कोटाले राजा फर्काउछु भन्दै आन्दोलन गर्नेहरुलाई आन्दोलन छाड्न आग्रह गरेका छन् । पोखरामा रहेका पूर्व राजालाई ध्यानमा राखेर हालै राप्रपाले गरेको आन्दोलनप्रति इंगित गर्दै बास्कोटाले पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्रलाई काठमाडौंमा आउन कुनै आन्दोलन गर्न नपर्ने बताए । उनले प्लेन टिकट काटिदिएमा पूर्व राजा आफैं काठमाडौं आउने टिप्पणी गरे ।

    ‘यो २१ औं शताब्दी हो, के गर्न राजा फर्काउने? केका लागि राजतन्त्र फर्काउने ? के पाइन्छ ? राजा फर्काउन पोखरामा जुलुस गर्न पर्छ?,’ उनले भने, ‘धेरै गर्न पर्दैन, एउटा प्लेन टिकट काट्दिनुस् पूर्वराजा जुलुस नगरिकन काठमाडौं फर्किहाल्छन् नि। केलाई दु:ख गर्ने ? फर्किने भनेको काठमाडौं त होला नि । सिंहासनमा त सम्भव छैन । सम्भवै छैन ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij