काठमाडौं । बाराबाट जन्ती लिएर उदयपुर जाँदै गरेको बस र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।
बाग्मती प्रदेश ०६–००१ ख ०१९५ नम्बर को बस र विपरीत दिशाबाट तेजपत्ता बोकी उदयपुरको कटारी तर्फ जाँदै गरेको ना. ८ख २४०४ नम्बरको मिनी ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बाराको गढी गाउँपालिका– ४ का ७० वर्षीय सीताराम धामी छन् । दुर्घटनापछि गम्भीर घाइते भएका धामीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य २६ घाइतेमध्ये सामान्य उपचारपश्चात २० जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुई जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । तीनजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाको अवस्था भने गम्भीर रहेको छ ।