काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरिएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो ।
उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।
प्रकृति मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
कलेजका सुरक्षागार्ड र बाउन्सरहरुले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।
उनको शव बुधबार राति रुपन्देहीको सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार पर्साको वीरगञ्ज, मोरङको जोगबनी र झापाको काकडभिट्टा नाका हुँदै करिब दुई सय नेपाली विद्यार्थीहरु फर्किएका छन् ।