काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ ।
प्रकृति लम्सालको मृत्युपछि न्याय माग्ने विद्यार्थीहरुमाथि दुर्व्यवहार र कुटपिट भएपछि कलेज छाड्न बाध्य भएका नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क गठन गरेको हो ।
सरकारले उक्त घटनापछि प्रभावित विद्यार्थीहरूको सुरक्षा, शीघ्र पुनरागमन र शैक्षिक चासोलाई सुरक्षित गर्न विशेष पहल स्वरूप यो हेल्प डेस्क स्थापना गरेको जनाएको छ ।
हेल्प डेस्कको नेतृत्व निर्देशक काली प्रसन्न महापात्रले गरेका छन् । उनको मातहत ९ जना कर्मचारीहरूलाई चौबीसै घण्टा हेल्पडेस्कमा खटाइएको छ ।
यो हेल्प डेस्कमार्फत विद्यार्थीहरूले आफ्नो समस्या समाधानका लागि सहज रूपमा सम्पर्क गर्न सक्ने बताइएको छ । त्यसका लागि हेल्प डेस्कमा ह्वाट्सएप नम्बर र चारवटा ल्याण्डलाइन टेलिफोन नम्बर उपलब्ध गराइएको छ ।
त्यसका लागि ०६७४–२३९६५५०, ०६७४–२३२३४०१, ०६७४–२३२३४०२, ०६७४–२३२३४०३ र ह्वाट्सएप नम्बर– ९१२४६२०६०५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
ओडिसा सरकारले प्रभावित विद्यार्थीहरू र अभिभावकहरूलाई शीघ्र संस्थामा फर्कन तथा पढाइ पुनः सुरु गर्न हेल्प डेस्कमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो ।
उनको शव बुधबार राति रुपन्देहीको सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ । प्रकृति मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरुमाथि कुटपिट र दुर्व्यवहार गर्दै घर फर्किन भनेको थियो ।
बुधबार पर्साको वीरगञ्ज, मोरङको जोगबनी र झापाको काकडभिट्टा नाका हुँदै करिब दुई सय नेपाली विद्यार्थीहरु फर्किएका छन् ।