काठमाडौं । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरेको हो ।
समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनले आफूमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।
साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
कलेजका सुरक्षा गार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो ।