काठमाडौं । भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्ड पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरा रहेका छन् । लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।
यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो ।
होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो । होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।