काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चट्टाने भीर (दुई किलो) भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशुली नदीमा खसेर बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली परिचालन गरिएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार व्यक्ति त्रिशूलीमा खसेका थिए ।
दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ । उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुल्न आएको छ ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।