काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल एक स्थान कमसहित १०७ औँ स्थानमा झरेको छ। गत वर्ष ३५ अंकसहित १०८ औँ स्थानमा रहेको नेपाल यस वर्ष एक अंक कम भएर ३४ अंकले १०७ औँ स्थानमा पुगेको हो। ५० भन्दा कम अंक पाउने मुलुकहरूलाई भ्रष्टाचारले व्याप्त देश मानिने भएकाले नेपाल पनि उक्त सूचीमै परेको छ।
डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ । यस्तै विगत ५ वर्षमा १८० देशमध्ये ७ वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य प्रगति गरेका छन् । ट्रान्सपरेन्सीका अनुसार विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन् । जसअनुसार सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ ।
यस्तै साउथ सुडान भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ । सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ । नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकहरुमा हुने भ्रष्टाचारमाथि आम धारणा बटुल्ने क्रममा आफैं सर्वेक्षण गर्दैन । विभिन्न संस्थाहरुले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ ।
विभिन्न निकायहरुले गरेको सर्वेक्षणलाई विश्लेषण गरेर ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्छ।