काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बस्नेतसँग ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजाय माग दाबी लिएर मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए ।
अख्तियारले दोस्रोपटक मेयर निर्वाचित भइकनको कार्यकालको अवधिमा बस्नेतले आर्जन गरेको सम्पत्तिको लेखाजोखा गरेको थियो ।
अनुसन्धान अवधिमा बस्नेतले १९ करोड ९५ लाख ७४ हजार ८६३ रुपैयाँ आर्जन गरेको देखिएको छ । सोही अवधिमा उनी र उनको परिवारले २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ ।
मुद्दा दायर गर्दा बस्नेतलाई कैद, जरिवाना र गैरकानुनी रुपमा लुकाएर राखिएको सम्पत्ति जफतसमेत गर्न माग गरिएको प्रवक्ता घिमिरेले बताए ।