काठमाडौं । खोटाङ जिल्ला अदालतले दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राईलाई बालयौन दुरुपयोग मुद्दामा २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।
खोटाङ अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई शुक्रबार २ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको हो । दाहालको इजलासले माघ १३ गते राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन ।
पीडितको जाहेरीका आधारमा खोटाङ प्रहरीले राईबिरुद्ध मुद्दा अघि बढाएको थियो । राईलाई पुर्पक्षका क्रममा धरौटीमा छाडिएको थियो ।
आफूले सञ्चालन गरेको फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए । थुनछेकका क्रममा जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले उनलाई चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न २०८० जेठ २२ गते आदेश दिएको थियो ।
राईले पीडित बालिकाहरूको संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्नेलगायत आरोपसहित उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा उनले यौन दुरुपयोग गरेको पुष्टि भएको थियो ।