काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका ‘नो केबलकार’ पक्षधरकासबै जना रिहा भएका छन् ।
माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
पक्राउ परेका सबैजना रिहा भैसकेका छन् । ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पहिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन (नानी) लाई १० हजार धरौटीमा रिहा गरेको छ ।
सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु जनही ५ हजार धरौटी बुझाएर छुटेका हुन् ।
झापाको दमकबाट पक्राउ परेका ८ जना साधारण तारेखमा छुटेका छन् ।