भीम रावलको पक्ष लिएको भन्दै एमालेले पार्टीबाट निष्कासन गर्यो सुदूरपश्चिमका ५ नेता

भीम रावलको पक्ष लिएको भन्दै एमालेले पार्टीबाट निष्कासन गर्यो सुदूरपश्चिमका ५ नेता

आइतवार, माघ २० २०८१
आइतवार, माघ २० २०८१
  • भीम रावलको पक्ष लिएको भन्दै एमालेले पार्टीबाट निष्कासन गर्यो सुदूरपश्चिमका ५ नेता

    काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले एमालेका पाँच जना नेताहरूलाई कारबाही गरेको जनाएको छ ।

    यस अघि नै पार्टीको केन्द्रीय सचिवालय बैठकले निष्कासन गरेका पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेका कारण तीन पाँच जना नेताहरूलाई कारबाही गरिएको हो ।

    एमालेले पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्यलाई पार्टीबाट निष्कासन गरेको हो ।

    प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    खड्कालाई यस अघि पनि स्पष्टीकरण सोधिएको थियो । पहिलो पटक स्पष्टीकरण सोध्दा चित्त बुझ्दो जवाफ दिएका कारण एक पटकको लागि कारबाही नगर्ने भनिएको तर, फेरी सोही गतिविधिमा संलग्न रहेपछि कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    अर्का प्रदेश सल्लाहकार परिषद् सदस्य कुँवरलाई यस अघि नै तीन महिनाको लागि निष्कासन गरिएको जानकारी दिँदै फेरी पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ । कुँवर पूर्व प्रदेशसभा सदस्य हुन् । उनी प्राकृतिक स्रोत समिति सभापतिसमेत भएका थिए ।

    प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले विज्ञप्तिमा जानकारी दिएका छन् ।

    प्रदेश कमिटी सदस्य विकलाई यस अघि नै स्पष्टीकरण सोध्दा पनि उनले स्पष्टीकरण नबुझाएको एमाले सुदूरपश्चिमले जनाएको छ ।

    विष्ट र मियाँलाई यस अघि तीन महिनाको लागि कारबाही गरिएकोमा पुनः पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको एमाले सुदूरपश्चिमले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij