काठमाडौं । भारतले नेपाललाई ७०० करोड भारु अनुदान दिने भएको छ । शनिबार भारतीय संसद्मा अन्तरिम बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई सो बराबर रकम अनुदान दिने उल्लेख गरेकी हुन् ।
यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२४/२५ को बजेटमा नेपाललाई ७०० करोड भारु अर्थात ११ अर्ब २० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । शनिबार प्रस्तुत बजेटमा उक्त रकमलाई नै निरन्तरता दिइएको हो ।
आर्थिक वर्ष २०२३/२४ मा भारतले नेपालका लागि ६५७.३८ करोड भारु अर्थात् १० अर्ब ५१ करोड ८० लाख रुपैयाँ छुट्ट्याइएको थियो ।
कुन देशलाई कति आर्थिक सहयोग ?
बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाएको छ ।
नेपालका लागि ७ अर्ब भारु बजेट छुट्टाएको सरकारले भुटानका लागि सहयोगमध्ये सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ । भुटानको बजेट यस पटक घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ ।
भारतले बङ्गलादेश र श्रीलङ्काको बजेट पनि यथावत् राखेको छ । बङ्गलादेशका लागि १२० र श्रीलङ्काका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ ।
तर मालदिभ्सलाई दिँदै आएको बजेटमा वृद्धि गरेको छ । मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक सिधै ६०० करोड भारु पुर्याइएको छ ।
म्यानमारलाई दिँदै आएको बजेट भारतले यसपटक घटाएको छ । म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मङ्गोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् राखिएको छ ।