भक्तपुर । आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।
प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।