काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का उत्कृष्ट खेलाडी दीपेन्द्रसिंह ऐरीले जय ट्रफी मेन्स एलिट कप नखेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर ऐरी अन्तर्राष्ट्रिय लिग टी-२० मा सहभागी हुन शुक्रबार युएई जाने भएकाले एलिट कप गुमाउने भएका हुन् ।
उनी यहीँ शुक्रबार त्यसतर्फ उड्नेछन् । प्रतियोगिता पुस २७ गते सुरु हुनेछ । घरेलु प्रतियोगितामा दीपेन्द्र नेपाल पुलिस क्लबको कप्तान हुन् ।
यूएईमा हुने आईएल टी-२० मा दीपेन्द्र डिफेन्डिङ च्याम्पियन गल्फ जायन्ट्समा आबद्ध छन् । गत संस्करण नामिबियाका कप्तान जेहार्ड एरास्मसको स्थानमा अनुबन्ध भएपनि उनले क्रिजमा उत्रने मौका भने पाएका थिएनन् ।
यो संस्करणको आईएल टी-२० मा नेपालका अर्का अलराउण्डर कुशल मल्ल पनि प्रतिस्पर्धा गर्दैछन् । उनी डेजर्ट भाइपर्स टिममा अनुबन्ध भएका छन् ।