काठमाडौं । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । मंगलबार काठमाडौँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्यांक प्रस्तुत गरेका हुन् ।
प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए । सन् २०२३ को नोभेम्बरसम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो ।
जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए । उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् । सन् २०२३ को भन्दा यो संख्या करिब १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए ।