काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले उड्डयन तथा हवाई सुरक्षाका लागि गरेका कामको सूची सार्वजनिक गरेका छन्।
मंगलबार क्यानको २६औं वार्षिकोत्सवका अवसरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसामु उड्डयन तथा हवाई सुरक्षाकाका लागि गरेका ३९ वटा कामको सूची सार्वजनिक गरेका हुन्।
यस्ता छन् क्यानका ३९ कार्यहरु
ईयूको सुरक्षा सूचीबाट बाहिर निस्कन विज्ञहरुलाई बोलाएर विशेषज्ञ सेवा लिएको, भौगोलिक विकटता र मौसमी विविधतालाई मध्यनजर गरी लुक्ला– फाप्लु–रामेछाप सेक्टरमा पर्ने लुक्लाको क्याम्जेमा एक थान र नेपालगंज, सिमकोट, रारा, जुम्ला, बाजुरा र सुर्खेत रुटमा पर्ने महाबु लेकमा २ थान वेदर क्यामेरा जडान गरेको जनाइएको छ ।
आन्तरिकतर्फबाट १८ वटा वायुसेवा प्रदायक कम्पनीको अडिट गरिएको छ भने हवाई सुरक्षासँग सम्बन्धित करिब २०० जनशक्तिलाई प्रशिक्षण दिइएको छ।
अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ७.०९ र आन्तरिक हवाई यात्रुको संख्या १३ प्रतिशले बढेको बताएका छन्। यो वर्ष अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४९ हजार १ सय ३३ र आन्तरिकतर्फ ८७ लाख ६० हजार ३ सय २ यात्रुले हवाई सेवा लिएका छन्।
नेपालबाट हाल १६ देशका २९ वटा तथा आन्तरिकतर्फ ३५ वटा विमानस्थलमा उडान हुने गरेको छ।