काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १० गतेदेखि आरएनपी–एआर प्रणाली लागू हुने भएका छ । भिजिबिलिटीको समस्या समाधान गर्न विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन(अथोराइजेसन रिक्वायार्ड (आरएनपी–एआर) प्रणाली लागू हुने प्रकृया अन्तिम चरणमा पुगेको हो ।
यसअघि लागू गर्ने भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई भारतले अनुमति नदिएपछि भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।
भू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भैसकेको हुँदा जनवरी २३ अथात् माघ १० गतेदेखि लागू हुने जनाइएको छ ।
मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।
आरएनपी–एआर प्रणाली लागू भएपनि विदेशी एअरलाइन्सका जहाजहरुले उडान र अवतरण गर्न भने समय लाग्ने छ ।
यो विधि लागू गर्न विदेशी एअरलाइन्स कम्पनीहरुले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधान पूरा भएको आधारमा अनुमति लिनुपर्ने हुन्छ । त्यसपछि पाइलटहरुलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रकृया पूरा गर्न समय लाग्ने जनाइएको छ ।
यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । भिजिबिलिटीको समस्या देखाउँदै उडान बन्द गरेको जजिराले फेब्रुअरी १ बाट र फ्लाई दुबईले १३ जनवरीबाट उडान गर्ने भनेका छन् । कतार एअरवेजले ३० नोभेम्बरसम्मको मात्र उडान अनुमति लिएको थियो । त्यस यता उडान गर्ने टुंगो छैन ।