काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरमा पूर्वमेयर पीएल सिंहको पूर्ण कदको सालिक राख्ने भएको छ । काठमाडौं महानगरपालिकाको आइतबार बसेको ३९ औँ कार्यपालिका बैठकले 'नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्याएको योगदानको सम्मान'मा उनको सालिक निर्माण गर्ने निर्णय गरेको हो ।
वि. सं. १९९६ साल चैत ११ गते जन्मिएका सिंहको २०८१ पुस १ गते निधन भएको थियो । उनी २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर काठमाडौं नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
२०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका थिए ।