काठमाडौं । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो ।
सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले १ अर्ब ३० करोड रुपैयाँको लगानीमा झापामा होटल ‘अश्वत्थ’ निर्माण गरेका छन् । यो होटेल २०२५ जनवरी १ तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा आउन लागेको हो ।
काँकडभिट्टाबाट चार किलोमिटर पश्चिम इटाभट्टामा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको होटल ‘अश्वत्थ’ दुई बिघा क्षेत्रफलमा फैलिएको छ । मेचीनगर–८ मा अर्को पाँचतारे ‘होटल मेची क्राउन’ बिगतदेखि सञ्चालनमा रहेको छ ।
झापामा अब ३ वटा पाँचतारे दर्जाका पर्यटकस्तरीय होटल भएका छन् । विर्तामोडमा यस्तै पाँचतारे होटल ‘किङ्सबेरी’ पनि सञ्चालनमा छ । अरु दुई वटा पाँचतारे स्तरका होटल झापामा प्रस्तावित छन् ।
केही दिनपछि नै सञ्चालनमा आउने होटल ‘अश्वत्थ’ले पाहुनाका लागि अनलाइन बुकिङ खुला गरिसकेको छ । होटलमा ८४ वटा स्वीट्स र डिलक्स कोठा भएको जनाइएको छ ।
होटलमा इन्डोर स्वीमिङ पुल, जाकुजी, स्पा, ब्याङ्केट हल, ध्यान र योग साधनाको सुविधा उपलब्ध रहेको छ भने होटलमा क्यासिनोसमेत सञ्चालन हुने भएको छ ।
भारतका मुख्य सहरमा दैनिक ४० उडान भरिरहेको बागडोग्रा विमानस्थल र रात्रिकालीन सञ्चालन क्षमता भएको चन्द्रगढी विमानस्थलबाट ३० किलोमिटरभन्दा कम दूरीभित्र रहेको मेचीनगर बाह्य र आन्तरिक पर्यटकका लागि बासस्थान भएको जनाइएको छ ।
पूर्वीनाकाको पाँच किलोमिटरभित्र काँकडभिट्टा, इटाभट्टा र धुलाबारी बजार क्षेत्र पर्दछन् । इटाभट्टा क्षेत्रमा पाँचतारे ‘अश्वत्थ’ र ‘मेची क्राउन’ रहेका छन् । यी दुबै होटलमा क्यासिनोसमेत सञ्चालन रहेका छन् । काँकडभिट्टाका अरु दुई पर्यटकीय होटलमा मिनी क्यासिनो चलिरहेका छन् ।
अब मेचीनगरमा क्यासिनोको सङ्ख्या चार पुगेको छ । मेचीनगर–१० धुलाबारीमा अर्को एउटा पाँचतारे होटलको भवन निर्माणाधीन अवस्थामा छ ।
होटल ‘अश्वत्थ’मा सुरुमै ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलले पर्यटकका लागि हिमाली क्षेत्रको दृश्यावलोकन गराउन माउन्टेन फ्लाइटसमेतको व्यवस्था भएको जनाइएको छ ।
भारतको आसाम, दिल्ली र पश्चिम बङ्गालका पर्यटकले होटलको बुकिङ गर्न थालिसकेको जनाइएको छ ।