काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरु छानबिनमा तानिएका छन् । तराईका चार फरक जिल्लाका एसपीहरुलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको हो ।
छानबिनमा तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी छन् । गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ । बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन् ।
उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको जनाइएको छ । धनुषाका एसपी गिरीमाथि केही आर्थिक अनियमितताको आरोपमा उजुरी नै परेको छ। बाँकी तीन जनाको हकमा भने राजश्व गडबढी भन्ने आरोप छ।
उनीहरुमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रुपमा कसैलाई पनि पठाइएको छ। छानबिनपछि निर्दोष देखिए उनीहरुलाई नै फिर्ता गरिने र दोषी देखिए कारबाही गरेर नयाँ एसपीहरु पठाउने हेडक्वाटरको तयारी छ ।