भद्रपुर(झापा) । स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढङ्गले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
प्रहरीले आव २०७८/७९ मा रु चार करोड पाँच लाख छ हजार एक सय ८१, आव २०७९/८० मा रु तीन करोड ९८ लाख ३६ हजार तीन सय ६४ र आव २०८०/८१ मा रु पाँच करोड ७० लाख ४६ हजार चार सय ८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।