काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको पदाधिकारी संख्या बढाउँदै वरिष्ठ उपसभापतिसहित नयाँ संरचना लागू गर्ने तयारी गरेको छ । पार्टीभित्र पदाधिकारीका आकांक्षी बढेपछि व्यवस्थापन गर्न पद र संख्या थप गर्ने निर्णय गरिएको हो ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेको हो । प्रस्तावित व्यवस्थाअनुसार कांग्रेसमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ३, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी कुल २४ जना पदाधिकारी रहनेछन् ।
यसअघि कांग्रेसको पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र कोषाध्यक्ष गरी १४ सदस्य रहने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापति पद पहिलोपटक सिर्जना गर्न लागिएको हो ।
उपसभापति र महामन्त्रीमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव गरिएको छ । तीन उपसभापतिमध्ये एक जना वरिष्ठ उपसभापति रहने व्यवस्था गरिनेछ भने तीन महामन्त्रीमध्ये कम्तीमा एक जना महिला हुने व्यवस्था गरिएको छ । उपसभापति र महामन्त्री सबै निर्वाचित हुनेछन् ।
त्यस्तै, सहमहामन्त्रीको संख्या पनि बढाएर १५ पुर्याइने भएको छ । प्रस्तावित व्यवस्थाअनुसार समावेशी समूहबाट ९, खुलाबाट २ र सभापतिले मनोनीत गर्ने ४ जना सहमहामन्त्री रहनेछन् ।
समावेशीतर्फ महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ्गता समुदायबाट एक–एक जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ । यसअघि अल्पसंख्यक/अपाङ्गता समुदायका लागि छुट्टै क्लस्टरको व्यवस्था थिएन ।
सभापतिले मनोनीत गर्ने चार सहमहामन्त्रीमध्ये एक जना महिला हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
केन्द्रीय समितिले गरेको निर्णय महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि मात्रै विधान संशोधनका रूपमा कार्यान्वयनमा आउनेछ ।