काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन नेताहरूको पद व्यवस्थापनका लागि मात्रै नभई कांग्रेसको आत्मसमीक्षा, आत्मसुधार र पुनर्निर्माणका लागि भएको बताएकी छन् ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले कांग्रेसलाई सुधारिएको र समयअनुकूल पार्टीका रूपमा अघि बढाउने अठोट व्यक्त गरिन् । उनले आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउँदै नयाँ तथा युवा पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिइन् ।
‘हामी महाधिवेशन नेताको पद व्यवस्थापनको लागि मात्रै गरिरहेका छैनौँ,’ उनले भनिन्, ‘कांग्रेसमा आत्मसमीक्षा, आत्मसुधार र पुनर्निर्माणको लागि हो । आन्तरिक लोकतन्त्रलाई अझै बलियो बनाउनुपर्छ । अब नयाँ र युवा पुस्तालाई अवसर दिँदै अगाडि बढ्छौँ ।’
भुसालले महिला आन्दोलन र पार्टी संगठनमा महिलाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नीति निर्माण तथा नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने बताइन् ।
उनले कांग्रेस एउटा राजनीतिक दल मात्र नभई विचार र कार्यशैलीसमेत भएको बताउँदै सुशासन, संविधान र कानुनी शासनभन्दा बाहिर गएर शासन गर्ने प्रवृत्तिविरुद्ध पार्टी बलियो शक्तिका रूपमा उभिनुपर्ने धारणा राखिन् ।
‘नेपाली कांग्रेस एउटा दल मात्र होइन, विचार हो । कार्यशैली हो । नेपाली कांग्रेस बीपीको विचार राख्ने पार्टी हो । हामी सुशासन, संविधान र कानुनी शासनभन्दा बाहिर गएर काम गर्ने विरुद्ध बलियो शक्ति बन्नेछौँ,’ भुसालले भनिन् ।
कांग्रेसमाथि पछिल्लो समय कठिन प्रश्नहरू उठेको भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूले त्यसको आत्मसमीक्षा गर्नुपर्ने बताइन् । महाधिवेशनको बन्दसत्रमा ती प्रश्नमाथि गम्भीर छलफल गरी जवाफ दिने गरी पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनपछि नेपाली राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन कांग्रेस गाउँ–गाउँमा पुग्ने बताएका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले जनताको जीवनस्तर सुधार र राष्ट्रिय समुन्नतिलाई कांग्रेसको मुख्य एजेन्डा बनाउनुपर्ने बताए । लोकतन्त्रको रक्षाका लागि लामो समय संघर्ष गरे पनि जनताका मनमा उठेका प्रश्नको उचित जवाफ दिन नसक्नु कांग्रेसका लागि आत्मसमीक्षाको विषय भएको उनले बताए ।
‘लोकतन्त्र भनेको केवल व्यवस्था मात्र होइन, नागरिकको जीवन बदल्ने माध्यम पनि हो,’ उनले भने, ‘तर, हामीले लोकतन्त्रको रक्षा गर्दागर्दै पनि जनताका मनमा उठेका प्रश्नहरूको समुचित जवाफ दिन सकेनौँ, यो हाम्रो आत्मसमीक्षाको विषय हो ।’
घिमिरेले वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै राजनीति सत्ता र औपचारिकतामा मात्र सीमित हुन नहुने बताए । बुढेसकाललाई सम्मानित बनाउन र युवालाई समुन्नतिको स्पष्ट बाटो देखाउन नसकिएको स्वीकार गर्दै उनले अब राजनीतिको केन्द्रमा जनता र राष्ट्रलाई राख्नुपर्नेमा जोड दिए ।
महाधिवेशनपछि कांग्रेस नयाँ जोस, जाँगर, कार्ययोजना र उत्साहसहित जनताको घरदैलोमा पुग्ने उनले बताए ।
‘नेपाललाई संसारकै सुखी मुलुक बनाउने दिशामा हामी अगाडि बढ्नेछौँ । यसका लागि आवश्यक ठोस कार्ययोजनासहित महाधिवेशनबाट आएको नयाँ उत्साह लिएर हामी गाउँ–गाउँमा जान्छौँ,’ घिमिरेले भने ।
परम्परागत शैलीको राजनीतिले अबका आवश्यकता पूरा गर्न नसक्ने उल्लेख गर्दै उनले १५औँ महाधिवेशन कांग्रेसका लागि मात्र नभई देशमै नयाँ उमङ्ग र रूपान्तरणको सुरुवात बन्नुपर्ने बताए ।