काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे खुलामञ्चमा हुनेछ । उद्घाटनपछि सोमबार र मंगलबार बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुनेछन् । निर्वाचनका लागि भने असोज २१ र २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसपटकको महाधिवेशनलाई नेता चयनभन्दा नीति चयनमा केन्द्रित गर्ने प्रयास हुनेछ ।
बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदन प्रस्तुत हुनेछन्। सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
महाधिवेशन उद्घाटनमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीसहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न दललाई निमन्त्रणा गरिएको छ । भारत, चीन, अमेरिका लगायतका मुलुकबाट समेत पाहुना बोलाइएको कांग्रेसले जनाएको छ ।
प्रतिनिधिका लागि काठमाडौंका गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रमा होटलको व्यवस्था गरिएको छ । जिल्ला, जनसम्पर्क समिति र भ्रातृ संस्थाबाट आएका प्रतिनिधिले होटल तथा आवासको खर्च आफैं बेहोर्नुपर्नेछ । विदेशी पाहुनाको आवास खर्च भने पार्टीले बेहोर्ने जनाएको छ ।
महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा व्यवस्था गरिएको छ । स्वास्थ्य सेवाका लागि खुलामञ्चमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । आकस्मिक अवस्थाका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।
महाधिवेशनमा आउने प्रतिनिधिका सवारीसाधनका लागि धरहराको अन्डरग्राउन्ड, माइतीघर–भद्रकाली सडकको एकतर्फी भाग, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसर, पुरानो बसपार्क आसपास र भृकुटीमण्डप क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।
कांग्रेसले महाधिवेशन प्रविधिमैत्री हुने र अनावश्यक तामझाम नगर्ने जनाएको छ । उद्घाटन सत्रमा निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सहभागी हुन अनुरोध गरिएको प्रवक्ता चालिसेले बताएका छन् ।