काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सरेको छ । यसअघि असोज १६ गतेदेखि सुरु हुने तय भएको महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन् ।
कांग्रेसका अनुसार वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन् । देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले महाधिवेशनको उद्घाटन दुई दिन सारिएको हो ।
