बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै
    नेपालगञ्ज (बाँके) । यहाँस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगञ्जले जनाएको छ । 
     
    सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले अध्ययन गरेका कारागारका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले जानकारी दिए । कैदीबन्दीलाई प्रअ पौडेलबाहेक कारागारभित्रका अन्य दुई बन्दीले अध्ययन गर्न सहयोग गरेका छन् । 
     
    प्रअ पौडेलले १८ देखि ५५ वर्षसम्मका कैदीबन्दीले कारागारमा स्वअध्ययन गरिरहेका जानकारी दिँदै नैतिक शिक्षाका बारेमा पनि अध्यापन थालिएको बताए। “परीक्षाको फर्म खुलेको समयमा फर्म भरेर बन्दीले सम्बन्धित परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्छन्”, उनले भने । 
     
    जुम्ला, कालीकोट, दैलेख, रुकुम, सल्ल्यानलगायत जिल्लामा रहेका विद्यालयमा आबद्ध भएर उनीहरुले नेपालगञ्जस्थित परीक्षा केन्द्रबाट परीक्षा दिएका पौडेलको भनाइ छ । स्वअध्ययन गरेर कैदमुक्त भएपछि आफ्नो पेसामा लाग्न सजिलो हुने उल्लेख गर्दै उनले बन्दीले आवश्यकताअनुसार पढ्दै गएका बताए। 
     
    पढ्ने कैदीबन्दी तथा थुनुवाहरुमध्ये लागुऔषध दुव्र्यसन मुद्दामा कारागारमा रहेका धेरै छन् । विसं २०५० देखि सो कारागारमा अध्ययन, अध्यापन हुँदै आएको प्रअ पौडेलले जानकारी दिए । “पढ्नेहरुको सङ्ख्या बढी हुँदा कक्षा लिन असजिलो भएको छ”, उनले भने । 
     
    कारागारभित्र कक्षा १ मा पढने २५, कक्षा २ मा २०, कक्षा ३ मा १५, कक्षा ४ मा २० र ५ कक्षामा १५ जना छन् । यसबाहेक १० जना कक्षा ६ देखि स्नातकोत्तर तह अध्ययन गर्नेछन् । उनीहरुलाई जीवन उपयोगी शिक्षाका साथसाथै योग र ध्यानका कक्षा पनि आवश्यक भएको पौडेलले बताए । कैदीबन्दी तथा थुनुवालाई बुद्धसँग सम्बन्धित पाठ्यपुस्तक परीयति शिक्षासमेत प्रदान गरिएको उनले जानकारी दिए । 
     
    जिल्ला कारागार बाँकेका निमित्त प्रमुख जेलर कविराम बुढाथोकीले बन्दीलाई मानसिक तनाबबाट मुक्त हुन स्वअध्ययन प्रभावकारी हुने उल्लेख गर्दै बन्दी जीवन बिताएका बन्दी सामाजिक जीवनमा प्रवेश गर्दा सामाजिकीकरण हुने बताए । उनले बन्दीलाई सरकारले उपलब्ध गराएको शिक्षाको हकको सुविधा उपभोग गरेको बताउँदै कारागारमा रहेको पुस्तकालयबाट उनीहरुले लाभ लिएका उल्लेख गरे । कारगारमा अहिले छ सय ८७ कैदीबन्दी तथा थुनुवा छन् ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij