काठमाडौं । मोरङको सुन्दरहरैचामा दुई नाबालिका छोरीलाई विष खुवाएर बेपत्ता बनेकी आमा अस्मिता पौडेल न्यौपानेलाई झापाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरैचा-७ बाट सनिवारदेखि बेपत्ता भएकी अस्मितालाई झापाबाट बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।
दुई नाबालिका मृत फेला परेको सुन्दरहरैचा नगरपालिका-७ स्थित केराघारी भित्र तीन र एक वर्षीया नाबालिका मृत फेला परेका थिए । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरेका अर्जुन कार्कीका ३ वर्षीया छोरी आइका र १ वर्षिया अर्पणा रहेका छन् ।
मोरङ प्रहरीका अनुसार अस्मिताले समेत छोरीलाई प्रयोग गरेको विष आफूले सेवन गरेको पाइएको छ । उनको शारिरीक र मानसिक अवस्थासमेत अस्वस्थ्य रहेको छ ।
प्रहरीले अस्मितालाई विराटनगरको एक अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ । घटनाबारे थप कुरा बुझ्न बाँकी रहेको प्रहरीले जनाएकाे छ ।
श्रीमानसँग विवाद भएपछि दुई छोरीलाई लिएर शुक्रबार बेलुकी साढे ६ बजे घरबाट हिँडेकी थिइन् । शनिबार अपरान्ह साढे चार बजे स्थानीय केराबारीमा दुई छोरी मृत फेला परेका थिए । अस्मिता भने बेपत्ता थिइन् । उनी झापा पुगेको जानकारीका आधारमा खोजतलास गर्दा बुधबार बिहान ६ बजे नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । नबालिकाको शव नजिकै प्रहरीले विषादी फेला परेको थियो ।
नबालिकाहरू केराघारी भित्र मृत अवस्थामा फेला परेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा-७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए ।