काठमाडौं । चोरी डकैतीलगायत अपराधका घटनाहरुमा संलग्न रहेका एक जना व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्राउ गरेको हो ।
उनलाई खोजतलासको क्रममा आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको प्रहरीलाई जनाएको छ ।
खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिएको हो ।
गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक–पटक डकैतीमा संलग्न भएको पाइएको छ ।