काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित गरेको हो।
प्रवक्ता देवराज चालिसेका अनुसार नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्। उपसभापति र महामन्त्रीमा कम्तीमा एक-एक जना महिला अनिवार्य गरिएको छ।
कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना चयन हुनेछन्। प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि विधानमा गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ र खुला महिलाबाट १५ जना रहनेछन्। सातै प्रदेशबाट एक महिलासहित चार–चार जना तथा काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना चयन हुनेछन्।
समावेशी समूहअन्तर्गत दलितबाट १४, आदिवासी जनजातिबाट २०, खस–आर्यबाट १८ र मधेसीबाट १३ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। त्यस्तै जनसम्पर्क समितिबाट सात, पिछडिएको वर्गबाट तीन, थारूबाट छ, श्रमिकबाट तीन र पेशागत विज्ञबाट सात जना रहनेछन्।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य बन्नेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक र प्रजातन्त्र सेनानीबाट तीन जना रहने व्यवस्था छ। थप ६६ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई दिइएको छ।
विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रबाट पारित गरिनेछ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन सुरु हुने भएकाले विधान सोमबार नै पारित गरिएको हो।