शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् । त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ ।

    राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत जेठमा ४ दशमलव १७ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५ दशमलव ४८ प्रतिशत छ ।

    गत जेठ मसान्तसम्ममा समीक्षा अवधिमा चालु खाता २ खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ भने पुँजीगत ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ कायम भएको छ । यो अवधिसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ । यो अवधिसम्ममा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।

    २०८० साल असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आर्थिक बर्षको ११ महिना अवधिमा २७ दशमलव ८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव एक महिनाको वस्तु आयात र १२ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    यो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । चालुआर्थिक बर्षको जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ६२ हजार ७ सय ५ रहेको छ । यो अवधिमा आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।

    जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव ६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij