सुन तस्करीको आरोपमा तीन जना पक्राउ

सुन तस्करीको आरोपमा तीन जना पक्राउ

शुक्रवार, आषाढ ७ २०८१
शुक्रवार, आषाढ ७ २०८१
  • सुन तस्करीको आरोपमा तीन जना पक्राउ

    काठमाडौँ । सुन तस्करीको आरोपमा तीन पक्राउ परेका छन् । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

    प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन् । हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा खाँले कम्मरमा लुकाएर सुन ल्याएको भेटिएपछि उनलाई सिनामङ्गलबाट पक्राउ गरिएको हो ।

    सुरक्षा जाँचका क्रममा खाँको साथबाट निलो रङ्गको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा झण्डै १० लाख पर्ने ६९ दशलमव आठ सय ९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव छ सय ५० ग्राम तौलको बेरुवा औँठी फेला पारिएको प्रहरीले जनाएको छ । 

    खाँले सुन ओसारपसार कार्यमा सन्तोष परियार र अञ्जिल गुरुङको पनि संलग्नता रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij