काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार ८ सय ९१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ११ हजार ८ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो ।
चालु आर्थिक वर्षमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए । “गत आर्थिक वर्ष २०७९र८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्षमा २० करोड ८७ लाख ९३ हजार ६ सय १४ रुपैयाँले राजस्व सङ्कलन बढेको छ,” उनले भने । गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड १ लाख २० हजार २ सय ७७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवमा सेवा करबापत ६ करोड ८६ लाख ७० हजार २ सय ८९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर ४३ करोड ४३ लाख ७८ हजार ३ सय ५५ रुपैयाँ, छुटबापत पाँच करोड ७० लाख ६३ हजार सात सय ४५ रुपैयाँ, डोर सुविधा शुल्क १ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ ।
पूँजीगत लाभकर २६ करोड ३५ लाख ५५ हजार तीन सय ८५ रुपैयाँ र विलम्ब शुल्कबापत एक लाख आठ हजार ६ सय ६ रुपैयाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिए ।