डुम्रे । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो ।
चालु आर्थिक बर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५०।१८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सङ्घबाट प्राप्त ३ अर्ब ८१ करोड २४ लाख १४ हजार ८ सय २९ रुपैयाँ मा ११ महिना अवधिमा ४६।५७ प्रतिशत खर्च भएको कोलेनिकाका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार चालुतर्फ ८२।३० प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ९ अर्ब १६ करोड १४ लाख ६७ हजार ६ सय १३ रुपैयाँ विनियोजन भएकामा ७ अर्ब ५४ करोड ३ हजार ४ रुपैयाँ खर्च भएको छ ।
गण्डकी प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट सङ्घको भन्दा नौ प्रतिशत बढी खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ ५५।४८ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २ अर्ब ६० करोड ३७ लाख ६ हजार रुपैयाँ विनियोजन भएकामा १ अर्ब ४४ करोड ४५ लाख ४१ हजार ३ सय १४ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेशमा चालुतर्फ ८६ करोड ५८ लाख २९ हजार ९ सय ८० रुपैयाँ विनियोजन भएकामा ४७ करोड ५८ लाख ५४ हजार ६ सय ३२ रुपैयाँ अर्थात् ५४ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ ।
योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउनेलगायतका कारणले विकास बजेटको खर्च न्यून देखिएको कोष नियन्त्रक भट्टराईले बताए ।
कार्यालयका अनुसार ११ महिनामा सङ्घ र प्रदेशको गरी ५०।१८ प्रतिशत विकास ९पुँजीगत० बजेट खर्च भएको छ । पुँजीगत बजेट ६ अर्ब ४१ करोड ६१ लाख २० हजार ८ सय २९ रुपैयाँमा ३ अर्ब २१ करोड ९८ लाख ७३ हजार ८ सय ६० रुपैयाँ खर्च भएको छ ।
त्यस्तै चालुतर्फ भने ७९।९४ प्रतिशत खर्च भएको छ । चालु तर्फ १० अर्ब २ करोड ७२ लाख ९७ हजार ५ सय ९३ रुपैयाँ विनियोजन भएकामा ८ अर्ब १ करोड ५८ लाख ५८ हजार १ सय ४ रुपैयाँ अर्थात् ७९।९४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।