काठमाडौं । काठमाडौं महानगरपालिकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । हिजो भएको १५ औँ नगरसभामा महानगरपालिका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
‘सांस्कृतिक शहर समृद्ध महानगर’को नारा काठमाडौं महानगरको सांस्कृतिक पहिचानलाई दिगो बनाउँदै जीवन्त सहरको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कम्तीमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने व्यवसायीलाई सुरुको ३ वर्ष व्यवसाय करमा शतप्रतिशत कर छुट दिने महानगरले घोषणा गरेको छ । यस्तै महानगर क्षेत्रभित्र जाँडरक्सी, चुरोट सूर्ति र लागू औषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति तथा कार्यक्रममा उल्लेख छ । जङ्क फुड प्रयोगलाईसमेत निरुत्साहित गरिने घोषणा भएको छ ।
महानगरले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेइकल जोन’बनाउने योजना बनाएको छ । महानगर क्षेत्रका सहकारीका कारोबारलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने, सहकारी सूचना केन्द्र बनाएर सुशासनलाई प्रभावकारी बनाउने, विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद अनिवार्य गर्ने, विद्यार्थीको क्षमता विकासका लागि शैक्षिक र भौतिक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौं महानगरले निजी तथा सामुदायिक विद्यालयको छात्रवृत्तिलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने, पढ्दै कमाउँदै अवधारणा अनुसार विद्यार्थीलाई पार्ट टाइमको कामको व्यवस्था मिलाउने घोषणा पनि गरेको छ । सामुदायिक विद्यालयका रिक्त शिक्षकका ठाउँमा विभिन्न विश्विद्यालयका ‘गोल्ड मेडलिस्ट’विद्यार्थीले करारमा भर्ना दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको अनुगमन व्यवस्थित बनाइने, शहरी अति गरिबहरूका लागि एक घर एक रोजगारीको व्यवस्था गरिने, ज्येष्ठ नागरिकको ज्ञानलाई पुस्तान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने, रैथाने सिपको राष्ट्रिय तथा अन्तर्राष्ट्रियता ब्राण्डिङ गरिने, टुकुचालाई खुला बग्न दिन विशेष परियोजना सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।