काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३÷२ ले जित्न सफल भएको छ । नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतक पुरा गरे । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।
कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमा गुमाएको थियो । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काएका थिए । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।
नेपालका लागि सोमपाल कामी र सागर ढकालले ३÷३ विकेट हात पारे ।अविनाश बोहराले १ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।