आज के-के भयो, कांग्रेसको १५ औं महाधिवेशनमा ?

आज के-के भयो, कांग्रेसको १५ औं महाधिवेशनमा ?

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • आज के-के भयो, कांग्रेसको १५ औं महाधिवेशनमा ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनसँगै पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन्।

    महाधिवेशनको बन्दसत्र समापन गर्दै थापाले अब कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताए। ‘आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन’, उनले भने।

    थापाले पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए। आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा मात्र सीमित नभई कांग्रेसका नीति, विचार र मुलुकका समसामयिक विषयमा बहसलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

    उनले महाधिवेशन सकिएलगत्तै स्थानीय तहको निर्वाचनसम्म पार्टीका लागि दिनरात खटिने बताए।

    शर्मा र घिमिरेका प्रतिवेदन पारित

    महाधिवेशनको बन्दसत्रले उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेका प्रतिवेदन पनि पारित गरेको छ।

    शर्माको प्रतिवेदनमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषय समेटिएका छन्। प्रतिवेदन पारित भएपछि शर्माले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए।

    उनले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए। महाधिवेशनबाट कसले कुन पद जित्छ भन्नेमा मात्र केन्द्रित नभई लोकतान्त्रिक मूल्य र संस्कृतिलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

    त्यस्तै, महामन्त्री घिमिरेको प्रतिवेदन पनि बन्दसत्रले पारित गरेको छ। प्रतिवेदनमा कांग्रेसलाई बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने नीति तथा कार्यक्रम समेटिएका छन्।

    बिहीबार बिहान १० बजेदेखि मतदान

    कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

    यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम रहे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा पछि सारिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

    मतदानका लागि काठमाडौंका राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात मतदान केन्द्र तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा मतदान गर्नेछन्।

    कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधि तथा भ्रातृ–शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्ने व्यवस्था गरिएको छ। गण्डकी र लुम्बिनीका प्रतिनिधिका लागि प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ।

    मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।

     
     
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij