काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युएईले जितेको छ।आइतबार भएको उपाधि भिडन्तमा घरेलु टिम ओमानलाई ५५ रनले पराजित गर्दै युएई च्याम्पियन बनेको हो।
युएई २०१६ पछि एसिया कपमा पुगेको हो । सन् २००४, २००८, २०१६ र २०२४ गरी उसले समग्रमा चार पटक एसिया कप खेल्नेछ ।
आइतबार २०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनायो । ओमानका मध्यक्रमका ब्याटर प्रतीक अथभलेले ३० बलमा ४ चौका र ३ छक्कासहित ४९ र खालिद कैलले ३० रन बनाए । अकिब इल्यास ७, नसिम खुसी शून्य, जिशान मकसुद १४ र कश्यप प्रजापति १ रन बनाएर आउट भए ।
यूएईका जुनैद सिद्दिकले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद फारुक र आयन खानले २÷२ विकेट लिए ।
ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । यूएईका कप्तान मोहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्कासहित १०० रन बनाए ।
टी–२० आईमा वासिमको यो तेस्रो शतक हो । अलिशान शराफू २८ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । आशिफ खान १६ बलमा ५ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे ।
पहिलो विकेटका लागि अलिशान र वासिमले ९.४ ओभरमा ९३ रनको राम्रो सुरुवात दिलाएका थिए । ओमानका बिलाल खानले २, शकिल अहमद र जिशान मकसूदले १÷१ विकेट लिए ।
युएईले सेमिफाइनल खेलमा नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । ओमानले हङकङलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
एसिया कपमा युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । भारत र पाकिस्तानको समूहमा यूएई पर्ने सम्भावना छ ।