काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।
योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप पनि गुमाएको छ । हङकङसँगै फाइनलमा पुगेका युएई र ओमन उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन् ।
टस जितेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
त्यस्तै, हङकङका लागि अन्सुमन राथले सर्वाधिक ६५ रन बनाए । बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए । नेपालका लागि सोमपालका कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए ।
शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन ।
कप्तान रोहित पौडेलले २१ रन बनाउँदा कुशल मल्ल १३ र सोमपाल कामी १२ रन बनाएर आउट भए । गुल्शन झा ६, आशिफ शेख ५ र करण केसी ३ रन बनाएर आउट हुँदा ललित राजवंशी २ रनमा अविजित रहे । आज पनि नेपालमा ओपनर ब्याटस्म्यान कुशल भुर्तेल विनारन पहिलो ओभरको दोस्रो बलमा डक आउट भए ।
हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।