काठमाडौं । एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए ।
शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन ।
कप्तान रोहित पौडेलले २१ रन बनाउँदा कुशल मल्ल १३ र सोमपाल कामी १२ रन बनाएर आउट भए । गुल्शन झा ६, आशिफ शेख ५ र करण केसी ३ रन बनाएर आउट हुँदा ललित राजवंशी २ रनमा अविजित रहे । आज पनि नेपालमा ओपनर ब्याटस्म्यान कुशल भुर्तेल विनारन पहिलो ओभरको दोस्रो बलमा डक आउट भए ।
हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।