काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा टस जितेको छ । अल अमरेत क्रिकेट मैदानमा आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । पहिलो सेमिफाइनल खेल युएईबाट नेपालले टोलीमा परिवर्तन गरेको छैन ।
नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् । फाइनल खेल भने आइतबार ओमान र यूएईबिच हुनेछ ।
अब तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन्।