काठमाडौं । नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।
नेपालको समूहमा रहेको कतारले सोमबार मलेसियालाई ४ विकेटले पराजित गरेपछि नेपालले अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
समूहको शीर्ष स्थानको नेपालको अन्तिमखेलअघि ६ अंक छ। दोस्रो स्थानको साउदी अरेबियाको दुई खेल खेल्न बाँकी छदा ४ अंक छ। मलेसिया, कतार र हङकङले अन्तिम खेलअघि २(२ अंक जोडेका छन्।
ओमानमा जारी प्रतियोगितामा नेपालले सोमबार नै लगातार तेस्रो जित हात पारेको थियो। सोमबार हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले आफ्नो विजयी यात्रा कायम राखेको थियो । समुह ए मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।
सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्यो।
नेपालका ओपनरद्वय आसिफ शेखले ४० रन र कुशल भुर्तेलले ३२ रन जोडे। आसिफले १८ बलमा ३ चौका र ३ छक्का तथा कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
कप्तान रोहित पौडेलले २० बलमा नटआउट २५ रन र सन्दीप जोराले १७ बलमा नटआउट १९ रन जोडे।
वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। जसमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छदा ११४ रनमा अलआउट भएको थियो।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन्।
कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन । नेपालले चौथो तथा अन्तिम खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ।