कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश, प्रत्यक्ष प्रसारण पनि हुने

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश, प्रत्यक्ष प्रसारण पनि हुने

बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश, प्रत्यक्ष प्रसारण पनि हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ ।

    कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको छ । यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको उनले बताए ।

    बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजबाट गरिनेछ । अन्य सञ्चारमाध्यमले समेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने व्यवस्था गरिएको छ ।

    बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।

    सोमबारदेखि जारी छलफलमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा धारणा तथा सुझाव राख्दै आएका छन् ।

    कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले पनि सहभागिता जनाएका छन् ।

    बन्द सत्र बिहान साढे १० बजेदेखि पुनः सञ्चालन हुने भनिए पनि केही ढिलाइ हुन सक्ने कांग्रेसले जनाएको छ। बाँकी धारणा तथा सुझाव समेट्दै प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइनेछ ।

    सभापति थापाले सम्बोधन गर्ने

    आजको बन्द सत्रको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी कांग्रेसले गरेको छ ।

    राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ । १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

    सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् । बन्द सत्र सकिएसँगै कांग्रेस महाधिवेशनको मुख्य ध्यान नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रियातर्फ केन्द्रित हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij