बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण
    नेपालगञ्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा कोटा प्रणालीअनुसार अहिलेसम्म सात हजार ६५४ दशमलव सात मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ । 
     
    वितरण गरिएका रासायनिक मलमध्ये सबैभन्दा बढी युरिया चार हजार ८१९ दशमलव छ मेट्रिक टन, डिएपी दुई हजार ६२८ दशमलव ४५० मेट्रिक टन र पोटास २०६ दशमलव ६५० मेट्रिक टन रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले जनाएको छ ।
     
    कम्पनीमा अझै पनि ३५६ दशमलव १०० मेट्रिक टन युरिया, १०५ दशमलव ६५० मेट्रिक टन डिएपी र १४ दशमलव ८३० मेट्रिक टन पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिए । 
     
    बाँकेमा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा रासायनिक मलको माग कम रहेको उनले बताए ।
     
    किसानले युरिया रासायनिक मल खेतीमा प्रयोग गर्ने बेला नभएपनि पछि नपाउने डरले सबैभन्दा बढी माग युरियाको गरेको जानकारी दिँदै प्रमुख श्रेष्ठले रासायनिक मल आउने क्रम जारी रहेको र वितरण कार्य पनि भइरहेको उल्लेख गरे । 
     
    “धानको रोपाइँ सकिएको करिब २५ दिनमा युरिया छर्ने हो तर किसानले पछि नपाइने हो कि भनेर माग गरिरहनुभएको छ ”, उनले भने । साउनभर रासायनिक मलको वितरण हुने जानकारी दिँदै प्रमुख श्रेष्ठले गत वर्षभन्दा सहज ढङ्गले मलको आपूर्ति हुने किसानलाई विश्वास दिलाए। 
     
    उनले यस वर्ष धान रोपाइँको सिजनमा भदौसम्मका लागि अझै पनि चार हजार मेट्रिक टन युरिया, दुई हजार ५०० मेट्रिक टन डिएपी र केही मेट्रिक टन पोटास रासायनिक मलको माग भएको जानकारी दिए । 
     
    आठ स्थानीय तहको जिल्लाका सबै पालिकामा कृषि सहकारीमार्फत रासायनिक मलको वितरण भइरहेको छ । 
     
    अहिले जिल्लाका केही स्थानमा रोपाइँ सकिएको छ भने केहीमा रोपाइँ नभएको राप्तीसोनारी गाउँपालिका–४  धामपुरका किशोर रत्गैया थारुले बताए । 
     
    ४४ प्रतिशत रोपाइँ
     
    बाँकेमा अहिलेसम्म ४४ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 
     
    ज्ञान केन्द्रले आज सार्वजनकि सूचना जारी गर्दै ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये १४ हजार ८६३ दशमलव दुई क्षेत्रफल जमिनमा धान रोपाइँ भएको उल्लेख गरेको छ । 
     
    जिल्लाको सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिए । विसं २०७८ मा भएको कृषि गणनाअनुसार बाँकेमा ६७ हजार ८८५ कृषक रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij