काठमाडाैं । रामेछापको दुर्गम हिमाली क्षेत्रस्थित उमाकुण्ड गाउँपालिका लाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाले २०८२ चैत १२ भित्र सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्यअनुसार गाउँपालिकाका सातवटै वडामा जन्मदेखि १५ महिनासम्मका १५५ जना बालबालिकाले नियमित रूपमा पाउनुपर्ने सबै खोप प्राप्त गरेका छन् । यस्तै, १६ देखि ५९ महिनासम्मका ४६८ जना बालबालिकाले पनि १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेका छन् । त्यसपछि गत चैत १८ गते सबै वडा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अविजित सुनुवारका अनुसार दुर्गम बस्तीमा घरदैलोमै पुगेर खोप सेवा विस्तार गरिएकै कारण यो उपलब्धि सम्भव भएको हो । उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अभिभावकको सक्रिय भूमिकाले अभियान सफल बनेको बताए ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले कुनै समय सामान्य स्वास्थ्य सेवा पुग्न कठिन रहेको क्षेत्रमा अहिले सबै बालबालिकालाई खोप सेवामा समेट्न सफल हुनु ठूलो उपलब्धि भएको बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्री थापा मगरले दुर्गम क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई समान प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय भए मात्रै नागरिकले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्ने उल्लेख गरे । साथै, बागमती प्रदेश सरकारले उमाकुण्डजस्ता विकट क्षेत्रको विकासका लागि विशेष कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ ।