काठमाडौं । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट ल्याइने १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गर्ने सरकारी व्यवस्थामा अन्तरिम रोक लगाएको छ ।
न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उक्त व्यवस्था अव्यावहारिक रहेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशसँगै सीमापारिबाट ल्याइने तरकारी, औषधि, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्रीमा तत्कालका लागि भन्सार अवरोध नहुने भएको छ ।
यसअघि अर्थ मन्त्रालयले १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था लागू गरेपछि तराई–मधेशका विभिन्न सीमानाकामा कडाइ गरिएको थियो । उक्त निर्णयप्रति सर्वसाधारण तथा सीमावर्ती क्षेत्रका व्यवसायीले विरोध जनाउँदै आएका थिए ।
सर्वोच्चको पछिल्लो आदेशपछि उक्त व्यवस्था हालका लागि कार्यान्वयन नहुने भएको छ ।