काठमाडौं । प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच बिहीबार राती आर्थिक वर्ष २०८३र८४ को सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको हो।
नीति, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै विपक्षी दलहरूले पटक पटक संसद बैठक अवरुद्ध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास गरेपनि सहमति हुन नसकेपछि प्रतिपक्षी दलहरुको अवरोध र बहिष्कारबीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिएका थिए।
अर्थमन्त्री वाग्ले बोल्दा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले भने उठेर विरोध गरेको थियो ।
नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव पेस भएकामा सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबाररातिनै पारित गरिएको हो।