काठमाडौं । सिन्धुपाल्चोकको सुकुटे बीच क्षेत्रमा पछिल्लो समय देखिएका अवाञ्छित गतिविधिप्रति होटल तथा पर्यटन व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले अध्यक्ष दामोदर नेपालको हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत यस्तो गतिविधिले समग्र पर्यटन क्षेत्रमै नकारात्मक असर पार्ने चेतावनी दिएको हो ।
विज्ञप्तिमा नेपाल विश्वका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक रहेको उल्लेख गर्दै बागमती प्रदेशअन्तर्गतको सुकुटे बीच क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्रका रूपमा विकास हुँदै गएको जनाइएको छ । भोटेकोशी नदी किनारमा हुने जलयात्रा ९¥याफ्टिङ०, प्राकृतिक सौन्दर्य र मनोरञ्जन गतिविधिका कारण उक्त क्षेत्रको लोकप्रियता बढ्दै गएको संघले जनाएको छ ।
साथै, होटल, रिसोर्ट तथा रेष्टुरेन्ट व्यवसायको विस्तारले स्थानीय अर्थतन्त्रसँगै राष्ट्रिय पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको विज्ञप्तिमा उल्लेख छ । व्यवसायीहरूको ठूलो लगानी र सक्रियताले सुकुटेलाई महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गरिरहेको जनाइएको छ ।
तर, पछिल्ला दिनहरूमा आफूलाई पत्रकार बताउने केही युट्युब सञ्चालकहरूले व्यक्तिगत स्वार्थका कारण रातिको समयमा होटल तथा रिसोर्टमा अनधिकृत प्रवेश गर्ने, पर्यटकलाई असहज हुने गतिविधि गर्ने तथा व्यवसायीलाई अवरोध सिर्जना गर्ने जस्ता कार्यहरू बढेकोप्रति संघले आपत्ति जनाएको छ । यस्ता गतिविधिले पर्यटकको सुरक्षामा प्रश्न उठाउने र नेपालको अन्तर्राष्ट्रिय छविमा असर पार्ने चेतावनी दिइएको छ ।
संघले शान्त, सुरक्षित र मर्यादित वातावरणमा बस्न पाउने पर्यटकको अधिकारमा हस्तक्षेप गर्ने कुनै पनि गतिविधि अस्वीकार्य हुने स्पष्ट पारेको छ । साथै, कानुनविपरीत क्रियाकलाप भएमा सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया अपनाउने व्यवस्था हुँदाहुँदै मनपरी हस्तक्षेप गर्नु उचित नभएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सुकुटे बीच क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दायित्व सबै पक्षको साझा भएको जनाउँदै संघले यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग कडा पहल गर्न आग्रह गरेको छ ।
पर्यटन व्यवसायीहरू नेपाल सरकारसँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन र विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
